कलाशैली संवाददाता । ‘हाउसफुल’ फ्रेन्चाइजको परम्परालाई कायम राख्दै दर्शकलाई हँसाउन र मनोरञ्जन दिन ‘हाउसफुल ५’ दर्शकसामु आइसकेको छ । यसले दर्शकलाई साढे दुई घण्टाका लागि सबै तनाव बिर्साउन मद्दत गर्छ । एक धनी र प्रसिद्ध व्यापारी रञ्जितले आफ्नो सम्पूर्ण सम्पत्ति जोलीको नाममा दिने घोषणा उनको १०० औं जन्मदिनमा समुद्रमा जहाजमा गर्छन् । तर, जहाजमा अप्रत्याशित घटनाक्रमले मोड लिन्छ, जहाँ तीन जना जोली देखा पर्छन् र हत्या हुन्छ । फिल्मले यही हत्या कसले र किन गर्यो भन्ने रहस्यलाई हाँस्य-शैलीमा प्रस्तुत गर्दै हत्यारा पत्ता लगाउने प्रयास गर्छ ।
यो फिल्म दुई संस्करण (ए र बी) मा आएको छ । दुई संस्करणबीच खासै ठूलो भिन्नता छैन, दोस्रो संस्करणमा हत्यारा फरक हुन्छ । फिल्मको पहिलो हाफ एकदमै रमाइलो छ, जहाँ एउटा पनि दृश्य अनावश्यक लाग्दैन । दर्शकले भरपुर हाँस्ने मौका पाउँछन् र कमिक पन्चहरूले राम्रो काम गरेका छन् । दोस्रो हाफ अलि कमजोर देखिए पनि क्लाइम्याक्समा पुग्दा फिल्म फेरि रमाइलो बन्छ । यदि दोस्रो हाफ अझ रमाइलो भएको भए फिल्म अझ उत्कृष्ट बन्ने थियो ।
समग्रमा, यस्ता व्यावसायिक फिल्महरू तर्क नगरी केवल मनोरञ्जनका लागि हेर्न सकिन्छ । यद्यपि, फिल्ममा वयस्क कमेडी र संवादहरू भएकाले बालबालिकालाई फिल्म देखाउँदा विचार पुर्याउनुपर्ने हुन्छ । फिल्ममा आकर्षक सेट, राम्रो पहिरन र पर्याप्त ग्ल्यामर देख्न पाइन्छ । फिल्ममा करिब १९ जना कलाकारको फौज छ र सबैले राम्रो काम गरेका छन् । तर, अक्षय कुमार को अभिनय विशेष उल्लेखयोग्य छ । यो फिल्म साजिद नाडियाडवालाले लेखेका हुन्, जसबाट यस्तो कमेडी फिल्मको अपेक्षा थिएन । तरुण मनसुखानीको निर्देशन ठीकठाक छ ।





