कलाशैली संवाददाता । दिनेश विजनको कमेडी फिल्म ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड फिल्म बनेको छ, जुन थिएटरमा लामो समय नचलेरै ओटीटी प्लेटफर्ममा आएको छ । थिएटर रिलिजको १४ दिनमै यो फिल्म ओटीटीमा उपलब्ध भएको हो । करण शर्मा निर्देशित फिल्म ‘भूल चुक माफ’ सुरुमा मे ९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको थियो । तर, पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरका कारण फिल्म हलमा जान रोकियो । अग्रिम बुकिङ खुलाए पछि अचानक निर्णय बदलेर सिधै ओटीटीमा रिलिज गर्ने घोषणासमेत गरिएको थियो ।
‘भूल चुक माफ’ को थिएटर रिलिज रद्द भएपछि पीभीआर आइनक्स अदालतसम्म पुग्यो र उच्च अदालतले ओटीटीबाट फिल्म फिर्ता ल्याएर थिएटर मालिकहरूको पक्षमा फैसला गर्यो । अन्ततः फिल्म मे २३ मा थिएटरमा रिलिज भएको थियो । यद्यपि, यो फिल्म जम्मा दुई हप्ता मात्रै थिएटरमा बसेर ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।
राजकुमार राव अभिनित कमेडी फिल्म ‘भूल चुक माफ’ अब ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो मा हेर्न सकिने भएको छ । यो हिजोदेखि नै स्ट्रिम भइसकेको छ ।