कलाशैली संवाददाता । भारतीय अभिनेता विक्रान्त मेसी र अभिनेत्री शनाया कपुर अभिनित ‘आँखों की गुस्ताखियाँ’ फिल्ममार्फत दर्शकको मन जित्ने तयारीमा छन् । एक साङ्गीतिक प्रेमकथामा आधारित यो फिल्मले दर्शकको मन छुने विश्वास गरिएको छ । यो फिल्मबाट शनाया बलिउडमा डेब्यु गर्दैछिन्, उनी कपुर खानदानबाट बलिउडमा प्रवेश गर्ने पछिल्लो कलाकार हुन् ।
हालै फिल्मको पहिलो पोस्टर रिलिज भएको छ, जसमा विक्रान्त र शनाया कपुरलाई मेलामा एकअर्कासँग प्रेमका सुन्दर पल बिताइरहेको देख्न सकिन्छ । पोस्टरले फिल्म निकै मिठो र हृदयस्पर्शी कथा हुने स्पष्ट सङ्केत दिएको छ । आफ्नो सादगी र उत्कृष्ट अभिनयका लागि परिचित विक्रान्तसँग शनायाको जोडी पर्दामा निकै ताजा र रोचक देखिएको छ, जसले दर्शकमा उनीहरूको अनस्क्रिन केमिस्ट्री कस्तो हुनेछ भन्ने उत्सुकता बढाएको छ ।
‘आँखों की गुस्ताखियाँ’ केवल एक म्युजिकल रोमान्स मात्र होइन, यसमा*विशाल मिश्राले सङ्गीत भरेका छन् । फिल्मका गीतहरूले प्रेममा विश्वास दिलाउने र लामो समयसम्म सम्झन योग्य हुने बताइएको छ । विशालको सङ्गीतले सजिएको यो फिल्म प्रेमकथा मात्र नभई एक सुन्दर अनुभूति पनि हो ।
मानसी बागलाले लेखेको यो फिल्मलाई जी स्टुडियो र मिनी फिल्म्सको प्रस्तुतिमा मानसी बागला र वरुण बागलाले निर्माण गरेका हुन् । फिल्मको निर्देशन सन्तोष सिंहले गरेका छन् । ‘आँखों की गुस्ताखियाँ’ जुलाई ११ मा हलमा रिलिज हुँदैछ ।





