कलाशैली संवाददाता । साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मोहर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले फिल्म र विशेषगरी अभिनेता पल शाहको भूमिकाप्रति दर्शकमाझ कौतुहलता जगाएको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यसको नयाँ पोस्टरमा नायक पल शाहलाई दोहोरो अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा पल नायिका वेनिशा हमालसँग लामो कपालसहित अंगालोमा बाँधिएका छन् भने अर्कोतर्फ छोटो कपालमा नायिका नीति शाहसँग नजिक देखिएका छन् । यसले गर्दा फिल्ममा पलको दोहोरो भूमिका पो हो कि भन्ने अनुमान दर्शकले लगाउन थालेका छन् ।
‘अलिखित नियमहरुमा आधारित कथा’ भनिएको ‘मोहर’को टिजर भने जेठ २७ गते सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ । पोस्टरमार्फत दर्शकमाझ थप उत्सुकता जगाउन खोजिएको र टिजर सार्वजनिक भएपछि फिल्मको कथावस्तुबारे अझ स्पष्ट हुने निर्माण पक्षको भनाइ छ ।
चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, वेनिशा हमाल र नीति शाहका साथै अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका रहेको छ ।
फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको ‘मोहर’मा दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, तथा प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना रहेको छ। चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् भने लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको भूमिकामा छन् ।





