कलाशैली संवाददाता । नेपाली फिल्म ‘लाज शरणम्’ प्रदर्शनको १००औँ दिनमा प्रवेश गरेको छ । गत वर्ष फागुन १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मले काठमाडौँको न्युरोडस्थित रन्जना सिनेप्लेक्समा १०० दिनको प्रदर्शन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
‘मेरो पहिलो फिल्मलाई दर्शकले दिएको मायाप्रति म निकै आभारी छु । समसामयिक विषय समेटेर निर्माण गरिएको यस फिल्मलाई दर्शकले रुचाउनुभयो, जसले मलाई फिल्म निर्माणमा निरन्तरता दिन हौसला प्रदान गरेको छ। आगामी दिनमा दर्शकको मायाले थपिएको जिम्मेवारी बोध गर्दै फिल्म निर्माण गर्नेछु’, निर्माता श्रेष्ठले भने ।
निर्माता श्रेष्ठले फिल्मले मनोरञ्जनसँगै सामाजिक विषय र सन्देश बोक्नुपर्नेमा जोड दिए । उनले आगामी फिल्म ‘पाँच पाण्डव’ निर्माण गर्ने घोषणा गरेका छन्, जसको पटकथा सुशील पौडेलले लेखिरहेका छन् भने वसन्त निरौलाले निर्देशन गर्दैछन् । उक्त फिल्म भदौदेखि छायांकन हुने सम्भावना छ ।