कलाशैली संवाददाता । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केन्द्रीय फिल्म जाँच समितिको सदस्यमा पत्रकार कुवेर गिरी र फिल्मकर्मी भगवतीकुमारी मैनाली (भीमा) लाई नियुक्त गरेको छ । समितिको रिक्त दुई पदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णयबाट उहाँहरूलाई नियुक्त गरी आज नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
दुई दशकदेखि फिल्म पत्रकारिता, फिल्मसम्बन्धी कार्यक्रम निर्माण र निर्देशनमा सक्रिय गिरीले यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन्। सदस्य गिरी फिल्म पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् । यस्तै, अर्की सदस्य मैनालीले कलाकार, लेखक र निर्देशकका रूपमा फिल्म र टेली शृङ्खलाका विभिन्न विधामा काम गर्नुभएको छ । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भइसक्नुभएको थियो ।





