कलाशैली संवाददाता । नयाँ नेपाली कथानक फिल्म ‘द ब्लू लाइट’ को आज (मंगलबार) कमलादीस्थित गणेश मन्दिरमा शुभ-मुहूर्त गरिएको छ । मुहूर्त पूजामा फिल्मका कलाकार तथा निर्माण टोली (कास्ट एन्ड क्रु) को उपस्थिति थियो । फिल्मको छायांकन बिहीबारबाट सुरु हुनेछ र उपत्यकाका विभिन्न स्थानमा २० दिनभित्र सक्ने लक्ष्य राखिएको छ ।
बलिराम चौहानको निर्देशनमा बन्ने यस फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुश्मान जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतका चर्चित कलाकारले शीर्ष भूमिकामा अभिनय गर्नेछन्। बाल कलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा रहेका छन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म मनोवैज्ञानिक थ्रिलर जनरामा आधारित हुनेछ । फिल्मका सहनिर्माता रमन ग्रे हुन् भने छायांकारको जिम्मेवारी नरेन्द्र मैनालीले सम्हालेका छन् । फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । ‘द ब्लू लाइट’ सन् २०२५ भित्रै प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।





