कलाशैली संवाददाता । नेपाली अभिनेता दीपकराज गिरीको टिम पुनर्मिलनको सम्भावना बढेको छ । ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ जस्ता हिट फिल्मबाट चर्चा कमाएका दीपक, सिताराम कट्टेल, जीतु नेपाल र केदार घिमिरे लामो समयपछि नयाँ फिल्म ‘पाँच पाण्डव’मा एकसाथ काम गर्ने तयारीमा छन् । सानो पर्दाबाट ठूलो पर्दामा ‘जम्प’ गरेका दीपक अहिले नेपाली फिल्म उद्योगमा स्थापित अभिनेता, लेखक र निर्माता हुन् । उनका फिल्मले बक्सअफिसमा सजिलै दश करोडको व्यापार गर्छन् । तर, पछिल्ला केही वर्षमा सिताराम र जीतुसँग उनको सहकार्य टुटेको थियो । दीपाश्री निरौला र केदार घिमिरे भने उनको टिममा कायम छन् ।
आपसी मतभेदका कारण टुक्रिएको यो समूह अब सुशील पौडेलको लेखन र वसन्त निरौलाको निर्देशनमा बन्ने फिल्म ‘पाँच पाण्डव’मा पुनर्मिलनको सम्भावनामा छ । नवीन श्रेष्ठद्वारा निर्माण हुने यो फिल्मको कथा दीपक, सिताराम र केदारले संयुक्त रूपमा छलफल गरेका छन्। दीपकले एक भिडियो अन्तर्वार्तामा भनेका छन्,‘फिल्मको कथा राम्रो छ। पाँच भाइको कथामा आधारित भएकाले मैले नै ‘पाँच पाण्डव’ नाम सुझाएको हुँ । पटकथा चित्त नबुझे पुनः लेखनमा जानेछौँ । तर फिल्म गर्छौँ ।’
उनको यो भनाइले फिल्मप्रति उनको उत्साह र सहकार्यको सम्भावनालाई प्रस्ट्याउँछ । निर्माण टिमले आधिकारिक घोषणा नगरे पनि दीपकको सङ्केतले दर्शकमा उत्साह थपिएको छ । यो सहकार्यले मूर्त रूप लिएमा सन् २०१५ मा रिलिज भएको ‘वडा नम्बर ६’ पछि यी कलाकार पहिलोपटक एकसाथ देखिनेछन् । काली रानी फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मका प्रस्तुतकर्ता ‘लाज शरणम्’ फेम नवीन श्रेष्ठ र निर्माता कालीरानी श्रेष्ठ छन् ।
पुरानो टिमको पुनर्मिलनले ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ जस्ता फिल्मको सिक्वेल ल्याउन दीपकलाई सहज हुने अपेक्षा छ । पछिल्लो केही फिल्ममा बक्सअफिसमा कमजोर प्रदर्शनको चिन्ता बोकेका दीपकले यो सहकार्यमार्फत पुनः आफूलाई अब्बल सावित गर्ने अवसर पाउनेछन् । दर्शकहरू यो टिमलाई ठूलो पर्दामा पुनः एकसाथ हेर्न आतुर छन् ।