कलाशैली संवाददाता । गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले नेपाली सङ्गीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले दिवंगत गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसरमा प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कार यस वर्ष २०८२ साल जेष्ठ २७ गते मङ्गलबार प्रदान गरिने भएको हो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सर्वसम्मतिमा सम्मानित हुने स्रष्टाहरूको नामावली पारित गरेको प्रतिष्ठानका कोषाध्यक्ष भुवन मास्केले जानकारी दिएका छन् । यसपटकको कार्यक्रम विशेष रूपमा स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान – २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । यस सम्मानसँगै राणाले रु. एक लाख एक हजार नगद राशि प्राप्त गर्नेछिन् ।
त्यसैगरी, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान – २०८२’ बाट वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्कीढली सम्मानित हुने भएका छन् । यो सम्मानमा रु. पचास हजार एक नगद राशि रहेको छ । प्रतिभाशाली गायक सुरज कुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । यस पुरस्कारको राशि रु. पचास हजार एक रहेको छ ।
यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान् गायक चन्द्र सिं घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु. पच्चीस हजार एक रहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारहरूलाई छनोट गरी सम्मान गर्न लागेको हो । कार्यक्रम स्वर्गीय प्रेमध्वज प्रधानको जन्मभूमिमा आयोजना गरिनुले थप महत्त्व राख्ने विश्वास लिइएको छ ।





