कलाशैली संवाददाता । नेपाली फिल्म उद्योगमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ फिल्म ‘परिवर्तन’ को निर्देशन गर्ने भएका छन् । ‘माझी दाइ’, ‘आमाको काख’ जस्ता दर्जनौँ फिल्म निर्देशन गरिसकेका केरुङको यो नयाँ प्रस्तुतिले एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रमा राख्नेछ । फिल्मले कर्तव्य र प्रेमबीचको सङ्घर्ष, नेपालको सीमा सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको कालो सञ्जाल र गरिब तथा असहाय जनताको पीडादायी यथार्थलाई जीवन्त रूपमा चित्रण गर्नेछ ।
फिल्ममा चर्चित कलाकारहरू अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन् । फिल्ममा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारको पनि अभिनय रहनेछ ।
दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा बन्ने यो फिल्मका निर्माता दीपक सिवाकोटी हुन् । विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल व्यवसायी र समाजसेवी सिवाकोटीले सामाजिक मुद्दालाई फिल्ममार्फत सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्यले यो परियोजनामा लगानी गरेका छन् । उनले नै फिल्मको कथा लेखेका छन् ।
फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् ।
लेखक अधिकारीले यो फिल्मले कर्तव्य र भावनाबीचको द्वन्द्व, प्रहरीको इमानदारी, र मानवीय मूल्यहरूको टकरावलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताए ।
फिल्मको छायांकन निर्देशन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी, द्वन्द्व निर्देशन श्री श्रेष्ठ, र नृत्य निर्देशन कमल राईले गर्नेछन् । नवराज शर्मा सहायक निर्देशक र अरुण रेग्मी प्रोडक्सन हेडका रूपमा रहनेछन् ।
‘परिवर्तन’ को छायांकन आगामी हप्ताबाट सुरु हुनेछ र पूर्वी नेपालका विभिन्न जिल्लामा सुटिङ हुने निर्माण पक्षले जनाएको छ। फिल्मलाई २०८२ भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । यसअघि वि.सं. २०२८ मा हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक फिल्म बनेको थियो। अब, झन्डै पाँच दशकपछि यही शीर्षकमा सशक्त कथावस्तुसहित नयाँ ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो ।





