कलाशैली संवाददाता । केही फिल्महरुलाई तिनका दृश्य वा सन्देशले समाजमा नकारात्मक असर पार्न सक्ने भन्दै सार्वजनिक प्रदर्शनमा रोक लगाइन्छ । यस्ता फिल्महरू प्रायः हलिउडमा निर्माण हुने गर्दछन्, जहाँ विचार अभिव्यक्तिको स्वतन्त्रतालाई महत्त्व दिइन्छ । यद्यपि सार्वजनिक प्रदर्शनमा नआए पनि, यी फिल्महरू इन्टरनेटका विभिन्न माध्यमहरूमा भने अत्यधिक रुचाइने र हेरिने गरेको पाइन्छ ।
हलिउडमा निर्देशकहरूले आफ्नो सोचलाई स्वतन्त्र रूपमा प्रस्तुत गर्ने हुँदा त्यहाँका फिल्महरू बढी विवादित तथा चर्चामा आउने गर्छन् । यसको विपरीत, बलिउड तथा नेपाली फिल्म निर्माणमा व्यावसायिक पक्षलाई पनि विशेष ध्यान दिइने गरिन्छ । यही भिन्नताका कारण हलिउड फिल्महरू प्रायः विवाद र चर्चाको केन्द्रमा रहन्छन् र कतिपय अवस्थामा विभिन्न देशहरूमा प्रतिबन्धित समेत हुन्छन् ।
‘फिफ्टी शेड्स अफ ग्रे’ (२०१५)
डकोटा जॉनसन र जेमी डोरनन अभिनित यो फिल्म अत्यधिक अन्तरंगदृश्यका कारण भारत लगायत धेरै देशमा प्रतिबन्धित भयो । फिल्मका बोल्ड दृश्यहरू हटाउँदा कथामा असर पर्ने र नहटाउँदा प्रदर्शन गर्न नमिल्ने भएपछि यसले व्यापक रिलिज पाउन सकेन, तर अनलाइन माध्यममा यो निकै लोकप्रिय भयो ।
‘नेबर्स’ (२०१४)
निकोलस स्टोलर निर्देशित यसफिल्ममा एक मध्यमवर्गीय दम्पतीको कथा र रोमान्सका दृश्यहरूका कारण चर्चामा रह्यो र केही ठाउँमा प्रदर्शनमा समस्या झेल्नुपरेको थियो ।
‘अमेरिकन पाई’ सिरिज (१९९९-२०१२)
स्कुल तथा कलेजका विद्यार्थीहरूको जीवनशैली र उनीहरूबीचका अन्तरंग सम्बन्धलाई प्रस्तुत गरिएको यो सिरिजका फिल्महरू पनि विभिन्न देशमा सार्वजनिक प्रदर्शनबाट वञ्चित गरिए तर युवा दर्शकमाझ इन्टरनेटमा लोकप्रिय रहे ।
‘अमेरिकन ब्यूटी’ (१९९९)
साम मेन्देस निर्देशित यस फिल्मले एक व्यक्तिको अन्तरंग सोच र सामाजिक व्यंग्यलाई देखाएको थियो, जसका कारण यो चर्चा र विवादमा आयो र केही बजारमा सार्वजनिक प्रदर्शनमा कठिनाइ भयो ।
‘सेक्स टेप’ (२०१५)
क्यामरन डियाज र जेसन सेगल अभिनित यो फिल्म एक विवाहित जोडीको हराएको सेक्स टेपको कथा वरिपरि घुम्छ। यसका वयस्क दृश्यका कारण यो पनि विवादित बन्यो ।
‘फ्रेन्ड्स विद बेनिफिट्स’ (२०११)
जस्टिन टिम्बरलेक र मिला कुनिस अभिनीत यो रोमान्टिक कमेडी युवाहरूमाझ लोकप्रिय भए पनि यसका केही दृश्यहरूका कारण परम्परागत दर्शकका लागि सहज थिएन र इन्टरनेटमा बढी रुचाइयो ।
‘एन्टीक्राइस्ट’ (२००९)
फिल्मको सुरुवात नै बोल्ड यौन दृश्यबाट हुने र समग्रमा अत्यधिक विवादास्पद सामग्री समावेश भएका कारण यो फिल्म सेन्सर बोर्डका लागि टाउको दुखाइ बन्यो र सार्वजनिक प्रदर्शनमा कठिनाइ भयो ।
‘बोराट’ (२००६)
साचा बैरन कोहेन अभिनीत यस फिल्मको पोस्टरदेखि नै विवाद सुरु भएको थियो र यसका सामग्रीले धेरै ठाउँमा प्रदर्शनमा रोक लगायो ।
‘शेम’ (२०११)
माइकल फासबेन्डर अभिनीत यस फिल्मले यौन दुर्व्यसनीको कथालाई नग्न रूपमा प्रस्तुत गरेकाले बोल्ड सिनकै कारण चर्चा र विवादमा तानियो ।
यसका साथै सन् २०१३ मा रिलिज भएको फिल्म ‘डन जन’, सन् २००४ मा रिलिज भएको फिल्म ‘स’, ‘युरोट्रिप’ पनि बोल्ड सिन तथा विवादास्पद कथावस्तुका कारण चर्चामा आए । यी फिल्महरूलाई हलमा हेर्न बन्देज लगाइए पनि इन्टरनेटमा भने सर्वाधिक हेरिने फिल्महरूमा पर्दछन् । यसले के देखाउँछ भने, कतिपय अवस्थामा सेन्सरशिपले रोक लगाएका फिल्महरूले वैकल्पिक माध्यमबाट दर्शक फेला पार्ने गर्छन् र हलिउड यस मामिलामा अग्रणी देखिन्छ ।





