कलाशैली संवाददाता । कुनै समय नेपाली फिल्ममा ‘लभर ब्वाई’को पर्यायवाची बनेका अभिनेता आर्यन सिग्देल अब फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुन थालेका छन् । फिल्म ‘किस्मत’बाट अभिनय यात्रा सुरु गरेका सिग्देलले एकपछि अर्को लभस्टोरी फिल्ममा काम गर्दै चकलेटी हिरोको छवि बनाएका थिए । दर्शकले पनि उनको त्यही रूपलाई अत्यधिक रुचाएपछि निर्माता/निर्देशकले पनि उनलाई प्रायः उस्तै भूमिकामा प्रस्ताव गरिरहे । फलतः उनी ‘लभर ब्वाई’को रूपमा टाइपकास्ट हुन पुगे ।
लामो समय एउटै छविमा बाँधिएपछि आर्यनले आफूलाई परिवर्तन गर्ने प्रयास पनि नगरेका होइनन् । फिल्म ‘होमवर्क’मा उनले पिता र पुत्रको दोहोरो भूमिका निर्वाह गरे, जसमा बुबाको भूमिकामा उनलाई देखेर धेरै दर्शक चकित परेका थिए । त्यस्तै, ‘नाइके’मा द्वन्द्वप्रधान भूमिकामा देखिए पनि ‘लभर ब्वाई’को ट्याग हटाउन भने सफल भएनन् ।
आफ्ना प्रयासहरू असफल हुँदा कतिपय अवस्थामा आफूले गरिरहेकै भूमिका सही हो कि जस्तो पनि लागेको उनले स्वीकारेका छन् । उनले भने,‘मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन । तर, विविध कारणले त्यो सम्भव भएन । विस्तारै फिल्म निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका फिल्महरू दर्शकका रोजाइमा कम पर्न थाले । फलतः मेरो उपस्थिति ठूलो पर्दामा कम भयो ।’
निर्माताहरूले पनि उनलाई नयाँ किसिमले प्रस्तुत गर्ने आँट नगर्दा केही वर्ष उनी पर्दाबाट टाढिएजस्तै भए । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले भने आर्यनको करियरमा नयाँ मोड ल्याइदिएको छ । यसमा उनको फरक भूमिका र परिपक्व अभिनयको सर्वत्र प्रशंसा भयो, जसले उनको ‘लभर ब्वाई’को छविलाई धेरै हदसम्म बदल्न मद्दत पुर्यायो । ‘पुजार सार्की’को सफलतापछि आर्यनले आफू पात्रमा रमाउन थालेको बताएका छन् ।
यसै क्रममा, आर्यन अब अर्को फिल्म ‘महाभोज’ मार्फत दर्शकमाझ आउँदैछन् । यो फिल्म आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनी आफ्नो पात्रकै रुपमा प्रस्तुत भएका छन् । सुकिलामुकिला हिरोको ट्याग लाग्ने आर्यन हिजोआज पात्रमा रमाउन थालेका छन् ।
सहकारीको रकम अपचलन जस्तो समसामयिक र गम्भीर विषयवस्तुमा आधारित यस फिल्ममा आर्यनका साथै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुष्कर गुरुङ, मलिका महत लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने यसको कथा विकास सुवेदीले लेखेका हुन् ।





