कलाशैली संवाददाता । निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् । ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि नेपाली रजतपटमा फर्किएकी विपनाले यो फिल्ममा शीर्ष भूमिका निर्वाह गर्नेछिन् । कथा उनकै वरिपरि घुम्नेछ ।
निर्देशक पन्तले भने,‘विपनाको मुख्य भूमिका छ। यो कथा यति भावनात्मक छ कि नेपालमा यस्तो इमोसनल फिल्म बनेको छैन । यो क्यारेक्टर उनलाई सुहाउँछ।’ आगामी भदौँदेखि छायाङ्कन शुरू हुने यो फिल्म फागुन १५ मा प्रदर्शन हुनेछ । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको फिल्मको थिम पोस्टर सार्वजनिक भइसकेको छ, जसमा आमाको आँसुलाई बच्चाले अड्याउने प्रयास गरेको देखिन्छ ।
विपनाले कथा सुन्दा आफू भावुक भएको र गीतले समेत रुवाएको बताइन् । ‘कथा र गीत यति मार्मिक छन् कि म काम गर्न तुरुन्त राजी भएँ’, उनले भनिन् । अन्य कलाकार र प्राविधिकको छनोट छिट्टै हुने निर्देशक पन्तले बताए ।