कलाशैली संवाददाता । डान्सर तथा अभिनेत्री कविता नेपालीले एकै सातामा विश्वका दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से चढेर कीर्तिमान कायम गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमालको चुचुरोमा पुगेकी उनको उपलब्धिलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ । मंगलबार कविताले दुवै हिमालको चुचुरोमा खिचिएका दुई आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा उनले राष्ट्रिय झण्डा फहराएकी छन् भने सगरमाथाको शिखरमा आफ्नो डेब्यु फिल्म ‘एक्लो’को पोस्टर पनि बोकेकी छन् ।
तस्वीरसँगै उनले लेखेकी छन्,‘यो यात्रा केवल शिखरहरूको बारेमा थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरूभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो। मैले यो जितिनँ, म यो जितभन्दा माथि थिएँ। मैले आफूलाई हराएको टुक्राहरू फेला पारेँ।’ कविताले निर्मल पुर्जाको नेतृत्वमा रहेको एलिट एक्सिपिडिसनमार्फत यी हिमाल चढेकी थिइन् । उनको टोलीमा एक दर्जन विदेशी आरोहीहरू पनि सामेल थिए ।
उनको डेब्यु फिल्म ‘एक्लो’ हाल कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा सहभागी छ । उनको यो कीर्तिमानले नेपाली कला र साहसिक क्षेत्रमा नयाँ इतिहास रचेको छ ।





