कलाशैली संवाददाता । म्युजिक भिडियोबाट फिल्ममा प्रवेश गर्ने अभिनेत्रीहरूको अनुभवमा फिल्म अभिनय निकै चुनौतीपूर्ण हुने गरेको छ । यस्तै अनुभव बोकेकी अभिनेत्री सनिशा भट्टराईले म्युजिक भिडियोको तुलनामा फिल्ममा समय र मिहिनेत धेरै लाग्ने बताएकी छन् । गत वर्ष दसैँमा प्रदर्शित ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गरेकी सनिशाले आफ्नो दोस्रो फिल्म ‘नरसिंहाः अवतार’ आगामी शुक्रबार (९ गते) रिलिज हुँदैछ ।
‘नरसिंहाः अवतार’मा उनले ‘कुसुम’ नामक युवतीको चरित्र निर्वाह गरेकी छन् । ‘१२ गाउँ’मा उनको भूमिका सीमित र सरल थियो । तर ‘नरसिंहाः अवतार’मा च्यालेन्जिङ भूमिकाले उनलाई अभिनयमा निखार्ने अवसर दिएको छ ।
फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाललगायतका कलाकारसँग स्क्रिन सेयर गरेकी सनिशाले हमालसँग काम गर्नु आफ्नो भाग्य ठान्छिन् । किनकि हमाल उनको बाल्यकालका हिरो हुन् ।
‘राजेश सर सिनियर भए पनि सहज, रमाइलो र सिकाउने स्वभावका हुनुहुन्छ । उहाँसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएँ’, उनले भनिन् । म्युजिक भिडियोबाट हतारमा फिल्ममा प्रवेश गरेकी उनलाई अब अभिनय, मार्सल आर्टलगायत सिकेर अगाडि बढ्नुपर्ने महसुस भएको छ। दिवाकर भट्टराईले निर्देशन गरेको ‘नरसिंहाः अवतार’ प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा आधारित छ । फिल्मको बुकिङ समेत खुलिसकेको छ ।