कलाशैली संवाददाता । आगामी शुक्रबारदेखि रिलिज हुने फिल्म ‘नरसिंहाः अवतार’को बुकिङ खुला भएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मको चर्चा चुलिएको छ । यसैबीच, निर्माण पक्षले नयाँ गीत ‘तिम्रो मात्र हुने मन छ’ सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको शब्द र संगीतमा बनेको यो रोमान्टिक गीतमा सैराज खाती र मनिषा सुनवारको स्वर छ ।
गीतमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराई रोमान्टिक अवतारमा देखिएका छन् । माइकल चन्दको कोरियोग्राफी र राजु थापाको डीओपी रहेको यो गीतले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
दिवाकर भट्टराईको लेखन र निर्देशनमा बनेको यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभजंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारको अभिनय छ ।
नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा बनेको फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा र राजु तामाङको एक्सन छ । प्रेम, विछोड, सस्पेन्स र बदलाको कथावस्तुमा आधारित यो फिल्मले दर्शकलाई बाँध्ने निर्माण पक्षको विश्वास छ ।





