कलाशैली संवाददाता । नेपाली फिल्म ‘होस्टेल ३’ को उल्लेखनीय सफलतापछि निर्माण टिमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ को घोषणा गरेको छ । सम्मान इन्टरटेन्मेन्टअन्तर्गत निर्माण हुने यो फिल्मले दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई मुख्य विषयवस्तु बनाउनेछ ।
निर्देशक सशान कँडेलले यो फिल्मले नेपाली समाजमा बढ्दो पुस्तागत अन्तर र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थलाई चित्रण गर्ने बताए । लेखक माधव शर्माले कथाले बाउ र छोराबीचको भौतिक दूरीसँगै सोच, दृष्टिकोण र जीवनशैलीको भिन्नतालाई गहिराइमा प्रस्तुत गर्ने उल्लेख गरे । यसको टाइटल डिजाइनमा ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ को अवधारणालाई रोयल भीमसेनले आकर्षक र रचनात्मक ढंगले चित्रण गरेका छन्।
‘होस्टेल ३’ ले ५१ दिनसम्म प्रदर्शनको कीर्तिमान कायम गरेको थियो । ‘बाउ भर्सेस छोरा’ को स्क्रिप्ट अन्तिम चरणमा रहेको र कलाकार चयन, छायाङ्कन मिति तथा प्रदर्शन समयबारे चाँडै जानकारी सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ । यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । यो फिल्मले पुस्तान्तरणको संवेदनशील विषयलाई सशक्त कथावस्तु र उत्कृष्ट प्रस्तुतिमार्फत दर्शकमाझ नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।