कलाशैली संवाददाता । टेलर स्विफ्टको ‘लुक ह्वाट यु मेड मी डु (टेलर संस्करण)’ गीतलाई ‘द ह्यान्डमेड्स टेल’ को पछिल्लो एपिसोडमा समावेश गरिएपछि ‘स्विफ्टीजहरू’ उत्साहित भएका छन् । उनले यस गीतलाइ ८ वर्षपछि आफ्नै भर्सनमा पुनः रेकर्ड गराउँलै रिलिज गरेकी हुन् ।
‘लुक ह्वाट यु मेड मी डु’ स्विफ्टको सन् २०१७ मा रिलिज भएको छैटौं स्टुडियो एल्बम ‘रेपुटेशन’ को शीर्ष गीत हो । आफ्नो पूर्व रेकर्ड लेबल ‘बिग मेसिन रेकड्र्स’सँग विवाद भएपछि ३५ वर्षीया अर्बपति पप स्टार स्विफ्टले आफ्ना पुराना एल्बमहरू पुनः रेकर्ड गर्ने वाचा गरेकी थिइन् । फलस्वरुप उनले ‘फियरलेस’, ‘रेड, ‘स्पिक नाउ’ र ‘१९८९’ लाई नयाँ भर्सनमा पुनः रिलिज गरिसकेकी छन् ।
स्विफ्टका फ्यानहरू, जसलाई ‘स्विफ्टीज’ भनिन्छ, ‘द ह्यान्डमेड्स टेल’ को पछिल्लो एपिसोडमा ‘लुक ह्वाट यु मेड मी डु (टेलर संस्करण)’ सुनेर उत्साहित भएका हुन् । यो गीत एपिसोडको सुरुमा बजाइएको थियो, जहाँ एलिजाबेथ मोसले अभिनय गरेको पात्र जुन ओस्बोर्नले गिलियडका कमान्डरहरूविरुद्ध विद्रोहको नेतृत्व गर्छिन् । यो गीत पहिलोपटक सन् २०२३ मा टेलिभिजन शृंखला ‘वाइल्डरनेस’ को टिजरमा डेब्यु भएको थियो ।
‘द ह्यान्डमेड्स टेल’ की स्टार तथा कार्यकारी निर्मातासमेत रहेकी एलिजाबेथ मोसले बिलबोर्डलाई भनेकी छन्, ‘मैले वर्षौंदेखि यो शोमा टेलरको गीत प्रयोग गर्न चाहन्थें । हामीले अन्ततः उनको गीतको लागि उपयुक्त ठाउँ फेला पार्यौं । यो गीत हाम्रो शोका लागि एकदमै उपयुक्त छ । टेलर मेरो लागि व्यक्तिगत रूपमा प्रेरणादायी छिन् । म एक स्विफ्टी हुँ, र मलाई लाग्छ मेरी सह–कलाकार यभोन र हाम्रो सम्पूर्ण टोली पनि स्विफ्टीज हुन् । हाम्रो शोको अन्तिम एपिसोडहरूमा उनको संगीत प्रयोग गर्न पाउनु गर्वको कुरा हो ।’
‘द ह्यान्डमेड्स टेल’ की सम्पादक वेण्डी हलम मार्टिनले बिलबोर्डसँग भनेकी छन्, ‘हामीले यो विशेष दृश्यको लागि धेरै गीतहरू प्रयास गर्यौं । लिजीले बलियो महिला आवाज र सन्देश चाहन्थिन् । टेलरको गीतले शब्द र धुन दुवैमा त्यो प्रदान गर्यो । हाम्रो मुख्य पात्र जुनले यो दृश्यमा साँच्चै ‘लुक ह्वाट यु मेड मी डु’ भनिरहेकी थिइन् । यो गीत र दृश्यको संयोजन एकदमै सही छ ।’





