कलाशैली संवाददाता । नायिका दिव्या रायमाझीले अभिनेता विराज भट्ट र सुशील श्रेष्ठसँग पर्दा शेयर गर्ने भएकी छिन् । उनी माइकल चन्दको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘राम नाम सत्य’ मा आइतबार औपचारिक रुपमा अनुबन्धित भएकी हुन् ।
फिल्म साइन गरेपछि उत्साहित देखिएकी दिव्याले भनिन्,‘राम नाम सत्यको कथा असाध्यै मन पर्यो । मेरो भूमिका पनि सशक्त र चुनौतीपूर्ण छ, जसले गर्दा म यो फिल्ममा काम गर्न निकै उत्साहित छु।’
उनले स्थापित कलाकारहरु विराज भट्ट र सुशील श्रेष्ठसँग काम गर्न पाउनुलाई एक सुनौलो अवसरको रुपमा लिएको पनि बताइन् ।‘राम नाम सत्य’ मा नायक विराज भट्ट र सुशील श्रेष्ठ यसअघि नै फाइनल भइसकेका थिए । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको लेखन पनि निर्देशक चन्दले नै गरेका हुन् । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ निर्माता रहेको यस फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको भूमिकामा छन् ।
निर्माण पक्षका अनुसार, फिल्मको छायांकन आगामी साउन महिनाबाट सुरु गर्ने योजना छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन रहने निश्चित भइसकेको छ । केही अन्य कलाकारहरुको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै वर्कशप सुरु गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्म एक्सन, पारिवारिक, प्रेम र सस्पेन्सको समिश्रण हुने बताइएको छ । नायिका दिव्या रायमाझीले फिल्म ‘एक्टरः टेक वान’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । उनको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो ।





