कलाशैली संवाददाता । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा बलिउड र टलिउडमा चलिरहेको छ। हालै विजयले आफ्नो प्रेम सम्बन्ध र विवाहको योजनाबारे खुलेर कुरा गरेका छन् । फिल्मफेयर म्यागेजिनलाई दिएको एक अन्तर्वार्तामा विजयले भने, ‘म विवाह गर्छु, तर अहिले म पार्टनरको खोजीमा छैन । रश्मिकासँग मैले धेरै फिल्म खेलेको छैन । म उनीसँग अझै फिल्ममा काम गर्न चाहन्छु । उनी उत्कृष्ट अभिनेत्री र सुन्दर महिला हुन्, त्यसैले हाम्रो केमेस्ट्रीमा कुनै समस्या हुँदैन । उनी मेहनती, दयालु र आफ्नो इच्छाशक्तिले जुनसुकै चुनौती जित्न सक्ने व्यक्तित्वकी धनी छिन् ।’
विजय र रश्मिकाले सुपरहिट फिल्महरू ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ मा सँगै काम गरिसकेका छन् । यी फिल्महरूमा उनीहरूको जोडी र अनस्क्रिन केमेस्ट्रीले दर्शकको मन जितेको थियो । यद्यपि, विजयले अन्तर्वार्तामा रश्मिकासँगको प्रेम सम्बन्धलाई स्पष्ट रूपमा स्वीकार नगरे पनि उनको प्रशंसाले उनीहरूको सम्बन्धको चर्चालाई थप बल दिएको छ ।
फ्यानहरू विजय र रश्मिकाको जोडीलाई रिल लाइफमा मात्र होइन, रियल लाइफमा पनि एकसाथ देख्न उत्साहित छन् । विजयको विवाह योजनाबारेको यो खुलासाले उनीहरूको सम्बन्ध र भविष्यका योजनाबारे थप कौतुहलता बढाएको छ ।





