कलाशैली संवाददाता । शनिबार काठमाडौंको हायात होटल ग्राउन्डमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीले आफ्ना चर्चित गीतहरूमा प्रस्तुति दिँदै दर्शकलाई उत्साहित बनाइन् । कार्यक्रममा नोराको नृत्यले दर्शकमा छुट्टै ऊर्जा थप्यो । नोरासँगै गायक दुर्गेश थापा र डान्सर तेरिया मगरले पनि स्टेजमा आकर्षक प्रस्तुति दिए । तर, कार्यक्रमको मुख्य आकर्षण बने नेपाली डान्सर गौरव सिटौला ।
नोराले भिडमा रहेका गौरवलाई चिनेर स्टेजमा बोलाएर उनीसँग नृत्य गरिन् । यो क्षणले गौरवलाई सामाजिक सञ्जालमा रातारात चर्चित बनायो । नोराले स्टेजबाटै गौरवलाई चिनेकी थिइन् र उनलाई अंकमाल गर्दै आफूले गौरवको डान्स सामाजिक सञ्जालमा हेर्ने गरेको र मन पराउने बताइन्। ‘मिस्टर एण्ड मिस एसइइ २०२४’का विजेता गौरव आफ्नो नृत्यका कारण पहिलेदेखि नै चर्चामा थिए। नोरासँगको यो सहकार्यले उनको लोकप्रियता थप चुलिएको छ।
कार्यक्रमले नेपाली दर्शकलाई मनोरञ्जनको नयाँ अनुभव प्रदान गरेको छ भने गौरवजस्ता युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर दिएको छ।





