कलाशैली संवाददाता । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा आफ्नो जादुमयी नृत्यले हजारौं दर्शकलाई मन्त्रमुग्ध पारेकी छिन् । बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक भव्य कार्यक्रममा उनले आफ्ना लोकप्रिय बलिउड गीतहरूमा आकर्षक प्रस्तुति दिएकी हुन् ।
‘स्नेक’ लगायत उनका चर्चित गीतहरूमा कोरस टोलीसहित नोराले दिएको प्रस्तुति हेर्न हायातको चौर दर्शकले खचाखच भरिएको थियो । यो कार्यक्रम विशेष गरी शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना गरिएको हो ।
शनिबार बिहानै दुई सहयोगीका साथ काठमाडौं आइपुगेकी नोरा आज आइतबार स्वदेश फर्किएकी छिन्। वर्ल्डवाइड फिल्म्सले नोरा र उनको टोलीलाई नेपाल ल्याएको हो ।
कार्यक्रममा नोरा फतेहीको प्रस्तुतिसँगै नेपाली कलाकारहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । गायक दुर्गेश थापा, प्रतिभाशाली नृत्यांगना तेरिया मगर, कलाकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ-आफ्नो प्रस्तुतिले दर्शकको मन जितेका थिए । यसरी बलिउड र नेपाली कलाको संगमले कार्यक्रमलाई थप रंगीन बनाएको थियो ।
फोटोहरू : कुवेर डंगोल / कलाशैली















