कलाशैली संवाददाता । बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेहीको २३ सदस्यीय टोली शुक्रबार अपराह्न काठमाडौं आइपुगेको छ । नोराले बौद्धस्थित हायात मैदानमा शनिबार बेलुका हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मा प्रस्तुति दिनुअघि उनको टोली काठमाडौं उत्रिएको हो ।
टोलीमा डान्सर, म्यानेजर, ड्रेस डिजाइनर, लाइटम्यान, फोटोग्राफरलगायत छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक संस्थाका पदाधिकारीले उनीहरूलाई स्वागत गरे। नोरा भने शनिबार बिहान दुबईबाट काठमाडौं आउने तयारीमा छिन् ।
आइतबार बिहान नोराले वसन्तपुर दरबार स्क्वायरसहितका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन्। सोही दिन अपराह्न उनी दुबई फर्कने इभेन्ट म्यानेजर मनीष कार्कीले बताए ।
शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहकार्यमा आयोजित यो कार्यक्रमका लागि खल्ती र आइएमई पेबाट टिकट बिक्री भइरहेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए ।
कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले पनि प्रस्तुति दिनेछन्।





