कलाशैली संवाददाता । विपिन कार्की र मिरुना मगर अभिनित फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा पहिलो सातामा उत्कृष्ट व्यापार गरेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले पहिलो साता सफलतापूर्वक पार गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) तथ्याङ्कअनुसार, फिल्मले बिहीबार रातिसम्ममा देशभरबाट कुल ४ करोड ४ लाख ७८ हजार २१० रुपैयाँ ग्रस व्यापार गर्न सफल भएको छ ।
नवीन चौहानद्वारा निर्देशित यस फिल्मले अन्तर्जातीय प्रेम सम्बन्धमा देखा पर्ने सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक द्वन्द्वको कथालाई पर्दामा उतारेको छ । पहिलो साता १ सय ९० शोबाट प्रदर्शन थालेको ‘ऊनको स्वीटर’को दोस्रो साताको शुक्रबार उल्लेख्य शो संख्या अनुसार प्रदर्शनरत छ ।





