कलाशैली संवाददाता । ‘हरितारा चलचित्र पुरस्कार’ र ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ बिहीबार प्रदान गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा ‘हरितारा पुरस्कार’ नेपाली चलचित्र क्षेत्रको पहिलो पुरस्कारको रूपमा स्थापित छ, जसको स्थापना समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले २०५२ सालमा आफ्ना पति हरि शमशेर र आफ्नो नाममा अक्षयकोष राखी गरेकी थिइन् । मनोज शमशेर जबरा यस पुरस्कारका संरक्षक तथा अध्यक्ष हुन् ।
परिवर्तन नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ पनि प्रदान गरिएको थियो । १०,००० रुपैयाँ राशिको ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो।
यसैगरी, ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट अभिनेता रविन्द्र सिंह बानियाँ, निर्देशक अमर ओली, अभिनेता जेबी रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाल सम्मानित भएका छन् । साथै, सञ्चारकर्मी तुलसी गिरी भावुक, सञ्चारकर्मी कृष्ण भुसाल र सञ्चारकर्मी कमला जोशीलाई ‘परिवर्तन-चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरिएको थियो ।
उक्त कार्यक्रममा अभिनेता टिका पहारीलाई २०८० सालको तथा अभिनेत्री रेजिना उप्रेती र चलचित्र पत्रकार विष्णु सुवेदीलाई २०८१ सालको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरियो। चलचित्र पुरस्कारको राशि जनही २५,००० रुपैयाँ रहेको छ भने पत्रकारिता पुरस्कारको राशि १०,००० रुपैयाँ रहेको छ।
कार्यक्रममा बोल्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आ-आफ्नो शिल्प र विधामा रचनात्मक योगदान दिँदै आएका फिल्मकर्मीलाई तथा पत्रकारहरूलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा गर्व महसुस भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा ‘हरितारा पुरस्कार’को विशेष महत्व स्थापित भएको उल्लेख गरे । आफूले पनि उक्त पुरस्कार प्राप्त गरिसकेको स्मरण गर्दै यो पुरस्कार आफ्नो लागि सदैव विशेष रहने बताए । कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल र पुरस्कृत व्यक्तित्व अभिनेता टिका पहारीले पुरस्कारको महत्वबारे प्रकाश पारेका थिए ।
पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय रहेका थिए। उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ अभिनेत्री चैत्य देवी, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ गायिका देविका बन्दना लगायत उपस्थित थिए ।





