कलाशैली संवाददाता । मङ्गलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली फिल्म उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे ‘सत्य कहिल्यै लुक्दैन ।’ यो वाक्यांश लेख्नेहरू अरू कोही होइनन्, यही जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’ का निर्देशक र कलाकारहरू थिए । निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले ।
के यो फिल्मको प्रचार रणनीतिको हिस्सा हो ? कि फिल्मसँग जोडिएको कुनै गहिरो सत्यले मिडियामा पुग्नुअघि कलाकारहरूले जनतालाई सङ्केत गरेका हुन् ? ‘महाभोज’ सहकारी ठगी प्रकरणमा आधारित कथा हो । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा स्ट्याटसलाई कतिपयले सहकारी पीडितहरूको पक्षमा कलाकारहरूको ऐक्यबद्धताको रूपमा बुझेका छन् । फिल्ममा देखिएको कथावस्तु कतै यति संवेदनशील त होइन, जसले ठुला व्यक्तित्व वा संस्थाहरूको अनुहार देखाउने हो ? किनकि कलाकारहरूको स्ट्याटसमा कुनै नाम वा आरोप खुलाइएको छैन, तर वाक्य आफैँले धेरै कुरा बोलिरहेको छ ।
‘महाभोज’को कथा, निर्देशन, कलाकारहरू र कथनहरूलाई हेर्दा यस्तो आभास हुन्छ – यो फिल्मले पर्दामा मात्र होइन, पर्दा पछाडिको सत्यलाई पनि उजागर गर्ने प्रयास गरेको छ । त्यही सत्य, जसलाई धेरैले दबाउन खोजे । तर कलाकारहरूको एक स्वरले भनिदियो – ‘सत्य कहिल्यै लुक्दैन ।’
अब त्यो सत्य के हो ? के फिल्मले कुनै यथार्थ घटना खोल्न लागेको छ ? के कसैले फिल्ममाथी दबाब दिने प्रयास गरिरहेको छ ? वा के फिल्मले केही यस्ता कुराहरू उजागर गर्छ, जसले ठुलाबडाहरूलाई असहज बनाउन सक्छ ? यी सबै प्रश्नको उत्तर अब एकै छ, ‘महाभोज’ हेरेपछि थाहा हुनेछ । तर अहिलेलाई यत्ति भन्न सकिन्छ, नेपाली फिल्मको पर्दा पछाडि केही चलिरहेको छ, जुन पर्दामा ‘सत्य’ को रूपमा छर्लङ्ग हुनेवाला छ ।