कलाशैली संवाददाता । नेपाली फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को छायांकन सम्पन्न भएको छ । निर्माणपक्षले सोमबार आयोजित इन्डक्ल्याप समारोहमार्फत ३५ दिनमै छायांकन पूरा भएको जानकारी दियो । फिल्मका निर्देशक हिमाल न्यौपानेले छायांकन अपेक्षाअनुसार सफलतापूर्वक सम्पन्न भएको भन्दै अब पोस्ट-प्रोडक्सनमा विशेष ध्यान दिइने बताएका छन्।
‘जनै हराएको बाहुन’ एक गाउँले बाहुनको कथा हो, जो सहरमा आइपुगेपछि भोग्नुपर्ने संघर्ष, भावनात्मक तानातान र पारिवारिक सम्बन्धहरूको उतारचढावमा आधारित छ । विशेषतः आमाछोराबीचको भावनात्मक सम्बन्ध फिल्मको केन्द्रमा छ । फिल्मका एसोसिएट निर्देशक तथा अभिनेता मनिष राउतले ‘जनैका धागोजस्तै सम्बन्धहरूको गुन्थन’ मार्फत कथा र संवाद बुनेको बताएका छन् ।
फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा लगायतका कलाकारको अभिनय रहेको छ । पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।
फिल्मका कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । मुख्य सहायक निर्देशक दिनेश बहादुर राउत, सहायक निर्देशकमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी रहेका छन् । फिल्ममा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी समावेश छ।





