कलाशैली संवाददाता । निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा फिल्म ‘जारी २’ को छायांकन सोमबारबाट पाँचथरमा सुरु भएको छ । फिल्मको सम्पूर्ण छायांकन पाँचथर जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा हुने बताइएको छ । सुब्बा निर्देशित यो फिल्मले लोकसंस्कृति र पहिचानमा आधारित कथालाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
‘जारी २’ ब्लकबस्टर चलचित्र ‘जारी’को सिक्वेल हो । कवि तथा लेखक उपेन्द्र सुब्बाकै लेखन र निर्देशनमा तयार हुन लागेको यो फिल्मको फस्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको दृश्य समावेश गरिएको छ, जससँगै फिल्मको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ घोषणा गरिएको छ ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बरालसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहनेछ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।
फिल्म आउँदो दशैँ लक्षित गर्दै प्रदर्शनमा ल्याइने तयारी निर्माण टिमले गरेको छ । पहाडी संस्कृति, परम्परा र जीवनशैलीमा आधारित ‘जारी २’ले पनि अघिल्लो संस्करणझैं दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।