कलाशैली संवाददाता । जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘नरसिंहाः अवतार’को संवादले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । विशेषगरी यसका नायक राज कटुवाल र नायिका सनिषा भट्टराईबीचको संवादमा टिकटक प्रयोगकर्ताहरूले भिडियो बनाउने क्रम बढेको छ ।
‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि विर्सन सकिँदैन । तिमीलाई विर्सिएर कसरी सास फेर्नु’, लाई राजले बोलका छन् भने यसको जवाफमा नायिका सनिषाले,‘को हौं तिमी मेरो’ भनेकी छिन् । यही संवाद अहिले दर्शकको मनमा बस्न सफल भएको छ।
एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलरको मिश्रण रहेको यो फिल्मलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । यसमा राज र सनिषाको प्रेम सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको छ ।
संवादले पाएको चर्चाप्रति नायक कटुवाल र नायिका भट्टराई उत्साहित छन् । उनीहरूले दर्शकले चलचित्रमा आफूहरूको प्रेमको विशेष पाटो हेर्न पाउने बताएका छन् । फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने निर्माण पक्षको अपेक्षा छ । नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने चलचित्रका निर्माता हुन् । ‘नरसिंहाः अवतार’मा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिव जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ ।





