कलाशैली संवाददाता । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही आफ्नो पहिलो प्रस्तुधिका लागि यही शुक्रबार नेपाल आउने भएकी छिन् । उनी नेपालमा तीन दिन रहने कार्यक्रम तय भएको आयोजक वर्ल्डवाइड फिल्म्स नेटवर्कले जानकारी दिएको छ । आयोजकका अनुसार, फतेही शुक्रबार दुबईबाट काठमाडौं आइपुग्नेछिन् । सोही दिन उनले ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा सहभागीता जनाउनेछिन् ।
शनिबार साँझ बौद्धस्थित हायात होटलको चौरमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो विशेष प्रस्तुति दिनेछिन् । यसका लागि उनी २० जनाभन्दा बढी डान्सरको टोलीसहित काठमाडौं आउन लागेकी हुन् । आइतबार बिहान नोराले वसन्तपुर दरबार स्क्वायरलगायत काठमाडौंका सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । इभेन्ट म्यानेजर मनीष कार्कीका अनुसार, उनी आइतबार दिउँसो दुबई फर्कनेछिन् ।
वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले कार्यक्रमको टिकट बिक्री खल्ती र आइएमई पेबाट धमाधम भइरहेको जानकारी दिए । यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा नोरा फतेहीसँगै नेपाली कलाकारहरू दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले पनि आफ्नो प्रस्तुति दिनेछन् ।