कलाशैली संवाददाता । अभिनेता विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ ले पहिलो सप्ताहन्तमै १ करोड ३७ लाख ६९ हजार रुपैयाँ ग्रस व्यापार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) मा तथ्याङ्क छ । ‘अञ्जिला’पछि सुस्ताएको बक्स अफिसलाई यो फिल्मले केही हदसम्म ताजगी प्रदान गरेको देखिन्छ । शुक्रबार र शनिबारको सरकारी तथ्यांकअनुसार यो कमाइ हालको समयका लागि उल्लेखनीय मानिएको छ ।
काठमाडौं उपत्यका र पूर्वी नेपालका सहरहरूमा फिल्मको अकुपेन्सी उच्च देखिएको छ भने पश्चिमका सहरहरूमा तुलनात्मक रूपमा कम दर्शक उपस्थित भएका छन् ।
निर्देशक नवीन चौहानले पूर्वी नेपालको लेकाली भूगोल र लिम्बु समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेम कथालाई पर्दामा उतारेका छन् । यसै साता प्रदर्शनमा आएको अर्को फिल्म ‘जार’ ले भने अपेक्षाअनुसारको व्यापार गर्न सकेको छैन । सोमबारको बुद्ध जयन्ती बिदाका कारण ‘ऊनको स्वीटर’को कमाइमा थप वृद्धि हुने अनुमान गरिएको छ ।