कलाशैली संवाददाता । नेपाली फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलरले सार्वजनिक भएपछिको छोटो समयमा युट्युबमा १० लाखभन्दा बढी भ्यूज बटुल्दै चर्चामा आएको छ । अभिनेता राजेश हमालको कमब्याक फिल्मको रुपमा सार्वजनिक भएको यसट्रेलरले युट्युबको मुभी सेक्सनमा नम्बर ३ मा ट्रेन्ड गरिरहेको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मप्रति दर्शकको उत्साहजनक प्रतिक्रिया देखिएको छ । लामो समयपछि पर्दामा फर्किएका हमालको दमदार उपस्थितिले दर्शकलाई रोमाञ्चित बनाएको छ । सामाजिक सञ्जालमा पनि ट्रेलरलाई व्यापक रुपमा शेयर गरिएको छ ।
अभिनेता हमालको ८ वर्षपछि पर्दामा फर्किएको यो फिल्मप्रति दर्शकको प्रतिक्षा बढ्दो छ । फिल्ममा हमालसँगै नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय रहेको छ ।
फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतले पनि सामाजिक सञ्जालमा विशेष चर्चा पाएको छ । ट्रेलरले सिर्जना गरेको उत्साहलाई हेर्दा फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । ‘नरसिंहाः अवतार’मा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको संयुक्त लगानी रहेको छ । फिल्म जेठ ९ मा देशभर रिलिज हुने तयारीमा छ ।





