कलाशैली संवाददाता । साहित्यकार बुद्धिसागरको कथामा आधारित फिल्म ‘के घर के डेरा घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’ र ‘एक्लो’ जस्ता चर्चित कृतिका लेखक बुद्धिसागरको कथालाई यसपटक निर्देशक दीपेन्द्रकुमार खनालले फिल्मको पर्दामा उतारेका हुन् । निर्देशक खनालले केही वर्षदेखि बुद्धिसागरलाई फिल्ममा कथाकारका रूपमा ल्याउने प्रयास गर्दै आएका थिए । अन्ततः सो प्रयास सफल भएको बताउँदै उनले भने राम्रो काम भएको बताएका छन् ।
निर्देशक खनालले पटकथा बुद्धिसागरले लेखेको भए पनि त्यसलाई फिल्मी शैली अनुसार परिमार्जन गरेर निर्देशन गरिएको जनाए । यसअघि पनि ‘के घर के डेरा’ निर्देशन गरिसकेका खनालले नयाँ संस्करण ‘घर नं २’ लाई फरक कथा र परिवेशमा आधारित रहेको स्पष्ट पारे ।
‘यो पटक इमोसनल शैलीमा प्रस्तुत गरिएको छ । यसमा काठमाडौँ शहरको प्रतिनिधित्व गर्ने विभिन्न वर्गका पात्रहरू छन्, जसको आपसी सम्बन्ध नै यसको विशेषता हो’, उनले भने ।
फिल्ममा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।