कलाशैली संवाददाता । अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय नेपाली फिल्म उद्योगमा निकै व्यस्त देखिएकी छन् । ‘छक्कापञ्जा ५’ को सफलतापछि उनको माग बढेको छ र उनी लगातार नयाँ फिल्महरुमा अनुबन्धित भइरहेकी छन् ।
हालै वर्षा अभिनित फिल्म ‘झिल्को’ प्रदर्शनमा आएको थियो भने उनले केही समयअघि ‘माग्ने राजा’ को छायांकन सम्पन्न गरेकी छन् । बिहीबार उनले निर्देशक परिच्छेद सेनको नयाँ फिल्म ‘महाराजधिराज’ मा शीर्ष भूमिकाका लागि औपचारिक सम्झौता गरेकी छन् । निर्मातासँग लिखित सहमति भएपछि वर्षाले फिल्म साइन गरेकी हुन् । यसअघि नै यो फिल्ममा अभिनेता पल शाह र रमेश उप्रेती अनुबन्धित भइसकेका छन् ।
‘महाराजधिराज’ पनि दशैंको अवसर पारेर प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ । यदि यो फिल्म पनि सफल भएमा वर्षाको दशैंमा ह्याट्रिक हुने देखिन्छ । विराज विष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।