कलाशैली संवाददाता । आज शुक्रबारदेखि नेपाली सिनेमाघरहरूमा दुई नयाँ फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ एकसाथ प्रदर्शनमा आएका छन् । सार्वजनिक प्रदर्शन अघि आयोजित प्रिमियर शोहरूबाट दुवै फिल्मले उत्कृष्ट प्रतिक्रिया बटुलेका छन्, जसले गर्दा दर्शकमाझ थप कौतुहलता बढेको छ । सामाजिक तथा मानवीय सम्बन्धका गहन कथावस्तुमा आधारित यी दुवै फिल्म ‘सोसल ड्रामा’ विधाका भए पनि यिनको सङ्गीत पक्षलाई विशेष सशक्त मानिएको छ ।
अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ ले देशभरका चलचित्र घरहरूमा १ सय ९० शो पाएको निर्माण पक्षले जानकारी दिएको छ । यो फिल्मप्रति विशेषगरी पूर्वी नेपालका सिनेमा घरहरूमा उत्साहजनक प्रतिक्रिया देखिएको छ । सुजन चापागाईँ र झुमा लिम्बुको कर्णप्रिय सङ्गीत रहेको ‘ऊनको स्वीटर’का ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरू सामाजिक सञ्जालमा यसअघि नै लोकप्रिय भइसकेका छन् । आर्टमाण्डू प्रा.लि.को प्रस्तुति रहेको नवीन चौहानको यो डेब्यु निर्देशकीय फिल्ममा विपिन र मिरुनाका साथै परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगरको पनि अभिनय रहेको छ ।
यस्तै, आजैदेखि प्रदर्शनमा आएको अर्को फिल्म ‘जार’ ले ८६ शो प्राप्त गरेको छ । यो फिल्म प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको चर्चित कथामा आधारित रहेको छ । फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको ‘जार’मा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिकामा छन् । फिल्ममा सरवानन इलावार्सुको छायाङ्कन तथा अखिलेश राईको सम्पादन रहेको छ । त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा यसका कार्यकारी निर्माता हुन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।
दुवै फिल्मले उठाएका विषयवस्तु र प्रस्तुतिकरणले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । प्रिमियरबाट प्राप्त सकारात्मक प्रारम्भिक प्रतिक्रियाले पनि फिल्मको व्यापारिक भविष्य उज्ज्वल रहेको सङ्केत गरेको छ ।