कलाशैली संवाददाता । मण्डला थिएटरले २०८२/२०८३ सालमा मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकहरूको नाम सार्वजनिक गरेको छ । नयाँ सिजनको औपचारिक घोषणा गर्दै थिएटरले आगामी सिजनमा जम्मा १३ वटा नाटक मञ्चन गर्ने जानकारी दिएको छ ।
मण्डलाले घोषणा गरेका निर्देशकहरूमा थिएटरका आन्तरिक निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी रहेका छन् । यसैगरी, आमन्त्रित निर्देशकहरूमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, संगीता थापामगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामी रहेका छन्।
थिएटरले नयाँ सिजनमा यी प्रतिभावान निर्देशकहरूसँग सहकार्य गर्न लागेको जनाएको छ । अघिल्लो सिजनमा घोषणा गरिएका १४ निर्देशकहरूमध्ये मञ्चन हुन नसकेका अनुप बराल र किरण चाम्लिङ राईका नाटकहरू पनि यसै सिजनमा प्रस्तुत गरिने भएको छ ।
मण्डला थिएटरले नयाँ सिजनमा कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिने बताएको छ । दर्शकहरूले मनोसामाजिक, पारिवारिक, प्रयोगात्मक, मल्टिमिडिया, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटकहरू हेर्न पाउनेछन् ।
यस सिजनदेखि मण्डलाले नयाँ टिकट दर पनि लागू गरेको छ । जसअनुसार नाटक मञ्चनको पहिलो साता विद्यार्थीहरूका लागि ३०० रुपैयाँ र सामान्य दर्शकहरूका लागि ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । त्यस्तै, अन्तिम दुई हप्तामा विद्यार्थीहरूले ५०० रुपैयाँ र सामान्य दर्शकहरूले १००० रुपैयाँ तिरेर नाटक हेर्न सक्नेछन् ।
नयाँ टिकट शुल्क निर्धारण गर्नुको कारणबारे मण्डलाले अन्तर्राष्ट्रिय प्रचलन, थिएटरको दीर्घकालीन दिगोपन र दर्शकहरूलाई नाटक सुरुमै हेर्न बानि बसाल्नु रहेको मण्डलाका अध्यक्ष अभिनेता दयाहाङ राईले बताए ।
‘हामीले झन्डै ६ वर्षदेखि शुल्क बढाएका छैनौं । यो भइरहेको मूल्यवृद्धिका कारण पनि भएको हो । यसले हामीलाई उक्त शुल्क बराबरको नाटक मन्चन गर्नुपर्ने दायित्व पनि थपेको छ’, अभिनेता राईले भने ।