कलाशैली संवाददाता । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को नयाँ लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा घिमिरे खाटमा बसेर मोबाइल चलाइरहेको देखिन्छन् । उनको पहिरन र हाउभाउ हेर्दा उनी गाउँको मुखियाको भूमिकामा देखिन सक्ने अनुमान गरिएको छ । यद्यपि, फिल्म निर्माण टिमले यस बारेमा आधिकारिक जानकारी दिएको छैन ।
निर्देशक मिलन तामाङद्वारा निर्देशित यो फिल्म तामाङ संस्कृतिमा आधारित रहेको बताइएको छ । फिल्मको छायांकन हाल म्याग्दीको रमणीय ताकम गाउँमा तीव्र गतिमा भइरहेको छ । निर्माण युनिटका अनुसार ताकम गाउँमा २० दिनसम्म छायांकन हुनेछ भने त्यसपछि २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको दृश्य कैद गरिनेछ ।
फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ र शिशिर वाङ्देल जस्ता चर्चित कलाकारहरुको दमदार अभिनय रहनेछ । सुशन प्रजापतिको छायांकन रहेको यो फिल्म रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको छ । फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ‘माइतीघर’को प्रदर्शन मिति यसै वर्षको दसैँको फूलपातिलाई तोकिएको छ ।