कलाशैली संवाददाता । नेपाली फिल्मको क्षेत्रको विकासका लागि चलचित्र विकास बोर्डले तीव्र गतिमा काम गरिरहेको जनाएको छ । बोर्डले हाल देशका विभिन्न चार स्थानमा एकैसाथ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसका साथै बोर्डले दीर्घकालीन नीति निर्माण, पूर्वाधार विकास र प्रणालीगत सुधारका लागि पनि ठोस कदमहरू अघि बढाएको जनाएको छ ।
बोर्डका अनुसार काठमाडौंमा महिलाहरूको फिल्म क्षेत्रमा सहभागिता र क्षमता विकासका लागि दुई हप्ते ‘वुमेन मेक फिल्मस्’ कार्यशाला चलिरहेको छ । यो कार्यक्रम महिला निर्माता, निर्देशक र प्राविधिकहरूलाई फिल्म निर्माणका व्यावहारिक पक्षहरूमा सशक्त बनाउन केन्द्रित छ । यसैगरी, पोखरामा नयाँ पुस्तालाई फिल्म निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउने उद्देश्यले ‘लाइट, क्यामेरा वर्कसप’ सुरु भएको छ । वैशाख २५ गतेसम्म सञ्चालन हुने यो कार्यशालाले क्षेत्रीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिमको कर्णाली क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधतालाई फिल्ममार्फत प्रवर्द्धन गर्ने लक्ष्यसहित रारामा ‘कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आयोजना भइरहेको छ । दोलखामा भने लोपोन्मुख थामी समुदायको विवाह संस्कृतिलाई दस्तावेजीकरण गर्ने उद्देश्यले वृत्तचित्र छायांकन भइरहेको छ । बोर्डको सहकार्यमा थामी जातिको विवाह परम्परालाई जीवन्त राख्ने यो प्रयास महत्त्वपूर्ण मानिएको छ ।
दीर्घकालीन योजना कार्यान्वयनतर्फ पनि बोर्डले महत्त्वपूर्ण प्रगति गरिरहेको जनाएको छ । बोर्डको पहलमा ‘चलचित्र विधेयक’ को मस्यौदा संसदमा पुगेको छ । यसले फिल्म उद्योगलाई कानुनी संरचना, संस्थागत स्पष्टता र दीर्घकालीन स्थायित्व प्रदान गर्ने विश्वास बोर्डले लिएको छ । नीति निर्माणदेखि वितरण, लगानी र सेन्सरसम्मका विषयहरू अब विधिसम्मत प्रक्रियामा आउने बोर्डको भनाइ छ ।
स्टुडियो निर्माणको प्रक्रिया पनि अगाडि बढेको छ । बनेपामा यसै महिनाभित्र ‘फिल्म स्टुडियो’ को शिलान्यास गर्ने तयारी गरिएको छ । यो स्टुडियो निर्माणले फिल्म निर्माणमा आवश्यक प्रविधि, सेट र पोस्ट प्रोडक्सन पूर्वाधारको अभावलाई कम गर्ने बोर्डको अपेक्षा छ ।
लामो समयदेखि चर्चामा रहेको बक्स अफिस प्रणाली कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । अनलाइन निर्माण प्रक्रिया सम्पन्न भइसकेको र यसै महिनाभित्र प्रणालीको उद्घाटन गर्ने तयारी बोर्डले गरेको छ । यो प्रणाली लागू भएपछि टिकट बिक्री, दर्शक तथ्यांक र आम्दानी सम्बन्धी यथार्थपरक तथ्यांक उपलब्ध हुनेछ, जसले पारदर्शिता र व्यवसायिक विश्वसनीयता बढाउने बोर्डको विश्वास छ ।
बोर्डले अनलाइन सर्भिसको निर्माण पनि पूरा गरेको छ । अब सेवाग्राहीले बोर्डका सम्पूर्ण सेवाहरू घरमै बसेर अनलाइनमार्फत प्राप्त गर्न सक्नेछन् । यसको वेबसाइटको निर्माण सम्पन्न भइसकेको र वैशाखभित्रै सेवा सुरु गर्ने तयारी छ ।