कलाशैली संवाददाता । सांगीतिक गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं संस्करणको उपाधि धादिङका प्रशेष पाण्डेले हात पारेका छन् । आज सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा प्रशिक्षक तथा गायक खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धा गर्दै पाण्डे विजेता बनेका हुन् ।
उपाधि जितेपछि प्रशेषले आफ्नो सफलताको श्रेय प्रशिक्षक खेम सेन्चुरी र दर्शकहरूलाई दिए । अन्तिम प्रतिस्पर्धामा अन्य तीन प्रतिस्पर्धीहरू पनि थिए। गायिका मेलिना राईको समूहबाट खोटाङका रोशन राई ‘फर्स्ट रनरअप’, गायक राजु लामाको समूहबाट इलामका प्रमेश राई ‘सेकेन्ड रनरअप’ र गायक उदय सोताङको समूहबाट सिक्किमकी अर्पणा आचार्य ‘थर्ड रनरअप’ घोषित भए ।
विजेता प्रशेष पाण्डेले नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । हिमालय टेलिभिजनबाट विगत दुई महिनादेखि प्रसारण भइरहेको यो सांगीतिक कार्यक्रमले दर्शकहरूको मन जित्न सफल भएको थियो ।