कलाशैली संवाददाता । मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘अञ्जिला’ ले शुक्रबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दै छ । विसं २०८१ सालको यो सुपरहिट फिल्म प्रदर्शनको लामो समयसम्म पनि दर्शकको रोजाइमा परेको छ र अहिले देशभरका हलहरूमा चलिरहेको छ । सरकारको आधिकारिक बक्सअफिसको तथ्यांकअनुसार, फिल्मले गत बुधबारसम्म शानदार ८ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्मलाई दर्शकले रुचाएका छन् । यसमा कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ, विजय बराल, बुद्धी तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मको सफलताको खुशियाली मनाउन निर्माताले सशस्त्र प्रहरी बल (एपीएफ) को परिसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । यस फिल्मको कमाइबाट कप्तान सुब्बाको घर निर्माण गरिने निर्माताले बताएका छन्, जसले फिल्मलाई सामाजिक कार्यसँग पनि जोडेको छ ।