कलाशैली संवाददाता । अमेरिकी कम्पनी एप्पलको लगानीमा बन्न लागेको हलिउड फिल्म ‘टासी’ को छायांकन शुक्रबारदेखि नेपालका विभिन्न रमणीय स्थानहरूमा सुरु हुँदैछ । विश्वभर प्रतिक्षा गरिएको यो फिल्मको छायांकनका लागि ३०० भन्दा बढी विदेशी प्राविधिकसहितको फिल्म टोली यतिबेला काठमाडौंमा छ ।
विलियम डफोई र टम हिडल्स्टन जस्ता हलिउडका चल्तीका कलाकारहरूको मुख्य भूमिका रहने यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको प्रेरणादायी कथालाई पर्दामा उतार्नेछ । सी-स फिल्म्सले ‘टासी’ को निर्माणको जिम्मा लिएको छ ।
सन् १९५३ मा शेर्पा तेन्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । फिल्ममा टम हिडल्स्टनले हिलारीको भूमिका निर्वाह गर्नेछन् भने विलियम डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।
काठमाडौं आइपुगेको फिल्मको टोलीमा अधिकांश प्राविधिकहरू भारतीय रहेका छन् । फिल्मको नेपालमा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी भारतको प्रवेश साहनीको आइटप कम्पनीले लिएको छ । स्रोतका अनुसार, फिल्मलाई आवश्यक पर्ने उपकरण, सामग्री र प्राविधिकहरू पनि यही कम्पनीको समन्वयमा भारतबाट ल्याइएको हो । विश्वव्यापी रूपमा २५० मिलियन अमेरिकी डलरको बजेट रहेको यो फिल्मले नेपालमा मात्रै १० देखि १५ करोड नेपाली रुपैयाँसम्म खर्च गर्ने अनुमान गरिएको छ ।
‘टासी’ को छायांकन काठमाडौं उपत्यकाका साथै प्राकृतिक सुन्दरताले भरिएका जोमसोम, बन्दीपुर, सिन्धुपाल्चोक र सगरमाथा क्षेत्र सोलुखुम्बुमा गरिने तयारी छ । फिल्मको छायांकन नेपालमा लगभग एक महिनासम्म चल्नेछ ।
यस फिल्मको निर्देशन ‘शेर्पा’ र ‘माउण्टेन’ जस्ता प्रशंसित डकुमेन्ट्रीहरू निर्देशन गरेकी जेनिफर पिडमले गर्ने भएकी छिन् । निर्देशक पिडमको तेन्जिङ नोर्गे शेर्पाको परिवार र समग्र शेर्पा समुदायसँग गहिरो सम्बन्ध रहेको बताइन्छ ।
तेन्जिङ नोर्गे शेर्पाका छोरा नोर्बु शेर्पा यस फिल्मको कार्यकारी निर्माताको रूपमा रहनेछन् । यसअघि हलिउडको मार्वल स्टुडियोको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ को केही दृश्यहरू पनि नेपालमा छायांकन गरिएको थियो । त्यसपछि हलिउडको यति ठूलो लगानी र कलाकार भएको फिल्मको छायांकन नेपालमा हुन लागेको यो पहिलो पटक हो।