कलाशैली संवाददाता । आगामी जेठ २३ गते रिलिज हुने फिल्म ‘जन्ते बाख्रो’ को पोस्टर भर्खरै सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका कलाकारहरू त देखिएकै छन्, तर सबैको आँखा तान्यो एउटा चश्मा लगाएको बाख्राले ! नाम जस्तै काम, फिल्मको पोस्टरमा बाख्रालाई नै हिरो बनाइएको छ । रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले बनाएको यो डिजाइनबाट फिल्मका एकजना कलाकार आशिफ शाह भने खासै खुसी देखिएनन् ।
आशिफलाई पोस्टरमा आफ्नो सानो भूमिका देखाइएकोमा चित्त बुझेको छैन । पोस्टर सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्, ‘सानो भूमिका’ ! त्यसमाथि फिल्मका लेखक प्रदीप भारद्वाजले ‘सानो भूमिका ?’ भनेर सोध्दा आशिफले ‘पोस्टर अनुसार’ जवाफ फर्काएका छन् । यसले के देखाउँछ भने आशिफलाई पोस्टरको डिजाइन चित्त बुझेको छैन, सायद त्यहाँ आफूलाई कम स्पेस दिइएको उनले महसुस गरेका छन् ।
अब यहाँ ट्विस्ट के छ भने, फिल्मको डिजिटल राइट्स आशिफकै कम्पनी जीटूवान डिजिटलले किनेको छ । यसकारण आशिफलाई खुसी बानाउन भएपनि निर्माण पक्षले पोस्टर फेर्न सक्नेछन् । किनकि पछिल्लो समय फिल्मको डिजिटल अधिकार लिनेहरूले पनि मेकिङमा प्रभाव पार्न थालेका छन् ।
फिल्ममा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमेश शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने जस्ता कलाकारहरू पनि छन् । सिमोश सुनुवारले निर्देशन गरेको यो फिल्म सामाजिक कमेडी जनरामा बनेको हो ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्म सामाजिक कमेडी जनरामा आधारित छ । सन्तोष गौतमले निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । नेपाली समाजमा विवाहमा जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ भनिन्छ र फिल्मको कथा यहीँ लोककथामा आधारित छ ।