कलाशैली संवाददाता । आगामी जेठ २३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य र ग्रामीण परिवेशलाई समेटेर निर्माण गरिएको यो पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ । तर, सबैको ध्यान खिचेको छ गुलाबी रङको चश्मा लगाएको एउटा बाख्राले, जसलाई पोस्टरको अग्रभागमा देखाइएको छ । रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले यो अनौठो पोस्टर डिजाइन गरेका हुन्।
पोस्टरमा देखिएका कलाकारहरूको हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हाँस्यव्यङ्ग्यको मिश्रण हुने संकेत दिन्छ । सार्वजनिक पोस्टरमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमेश शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू फिचर्ड छन् । पोस्टरमा बाख्रालाई प्रमुख स्थान दिनुले फिल्मको कथावस्तुमा विशेष रहस्य र कमेडीको तडका हुने अनुमान लगाउन सकिन्छ ।
सिमोश सुनुवारद्वारा निर्देशित ‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । यसअघि सार्वजनिक भएका फिल्मका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइसकेका छन् ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्म सामाजिक कमेडी जनरामा आधारित छ । सन्तोष गौतमले निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । नेपाली समाजमा विवाहमा जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ भनिन्छ र फिल्मको कथा यहीँ लोककथामा आधारित छ ।
फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने यो फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ । बाख्रालाई केन्द्रमा राखेर सार्वजनिक गरिएको यो पोस्टरले दर्शकमा फिल्मप्रति थप उत्सुकता जगाउने अपेक्षा गरिएको छ ।