कलाशैली संवाददाता । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्म ‘बिगुल’ को बुधबार कोटेश्वर महादेवस्थानमा शुभ मुहूर्त सम्पन्न भएको छ। अक्षय तृतीयाको अवसर पारेर गरिएको मुहूर्त समारोहमा अभिनेत्री बेनिशा हमालले परेवा उडाएर फिल्मको औपचारिक सुरुवात गरेकी थिइन् । मुहूर्तको पहिलो दृश्यमा अभिनेत्री हमाल र अभिनेता नरेन खड्काले अभिनय गरेका थिए ।
सामाजिक जागरण, समसामयिक राजनीति, नागरिक कर्तव्य र मनोरञ्जनलाई समेट्ने बताइएको ‘बिगुल’ फिल्मको पटकथा र संवाद मौनता श्रेष्ठले लेखेका हुन् । दिनेश कोइरालाको कथामा तयार भएको फिल्ममा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमीरे, सुमोद भारद्वाज, बिनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारी र बालकलाकार श्रेयान्सी थपलियाको अभिनय रहनेछ ।
चितवनबाट छायांकन सुरु हुने फिल्मका गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गर्ने फिल्मको निर्माण व्यवस्थापक श्याम केसी रहेका छन् ।