कलाशैली संवाददाता । होम प्रोडक्सनको फिल्ममा अभिनय गर्न अनमोल केसी तयार भएका छन् । पछिल्लो समय बाहिरी ब्यानरमा काम गरिरहेका अनमोल जेठको अन्तिमबाट छायांकन हुने होम प्रोडक्सनको फिल्ममा जुटेका छन् । फिल्म ‘क्याप्टेन’ पछि होम प्रोडक्सनको फिल्ममा सक्रिय समय दिन नसकेका अनमोल अब भने पिता भुवन केसीकै निर्देशनमा बन्ने नयाँ फिल्ममा काम गर्न लागेका हुन् ।
हालसम्म फिल्मको नाम सार्वजनिक गरिएको छैन । तर, यो फिल्मलाई विशुद्ध लभ स्टोरीको कथावस्तुमा निर्माण गरिने बुझिएको छ । फिल्मको स्क्रिप्ट लक भइसकेको छ र लोकेसन अवलोकन समेत निर्देशक भुवन केसी र उनकी टिमले सकाएको छ ।
अनमोल अभिनीत यो नयाँ फिल्म दुई चरणमा छायांकन हुने तयारी छ । पहिलो चरणको छायांकन जेठको तेस्रो साताबाट केही दिनका लागि सुरु गरिने र दोस्रो चरण भदौमा सम्पन्न गरिने योजना बनाइएको छ । फिल्ममा अन्य कलाकार को-को रहने भन्ने विषय भने खुलाइएको छैन, तर अभिनेत्रीमा जसिता गुरुङको नाम चर्चामा छ ।
यस्तै, अनमोल अभिनीत अर्को फिल्म ‘जेरी अन टप’ को छायांकन अझै १५ दिन बाँकी छ । उक्त फिल्म असोज ३१ गतेबाट प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षले गरिसकेको छ ।