कलाशैली संवाददाता । भारतीय चर्चित संगीत कम्पनी टि सिरिजले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’ को हिन्दी संस्करण सार्वजनिक गरेको छ । टि सिरिजले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गीत ‘उफ’ दर्शकमाझ ल्याएको हो ।
हिन्दी संस्करणमा गीतको शीर्षक ‘उफ’ राखिएको हो । भिडियोमा सुशान्त केसीसँगै अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । यद्यपि, नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरू हिन्दी संस्करणमा देखिएका छैनन् । भिडियोकै सेटिङ भने दुवै भाषामा एउटै राखिएको छ ।
गीतमा इन्द्रकला राईको नेपाली संस्करणलाई भने परिवर्तन नगरि जस्ताको तस्तै राखिएको छ । सुशान्त केसीको ‘बार्दली’ नेपाली युट्युबमा अत्यधिक लोकप्रिय बनेको थियो र यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत पुग्न सफल भएको थियो । नेपाली इन्टरनेट प्लेटफर्ममा लोकप्रिय गायक सुशान्त र भारतीय संगीत कम्पनीबीचको सहकार्यलाई विशेष महत्वका साथ हेरिएको छ ।