कलाशैली संवाददाता । बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘केसरी-२’ रिलिज भएको केही दिनमै विवादमा तानिएको छ । फिल्मका संवादहरू चोरी गरिएको आरोप युट्युबर तथा कवि याह्या बुटवालाले लगाएका हुन् ।
याह्याले आरोप लगाउँदै भनेका छन् कि फिल्ममा जलियाँवाला बाग नरसंहारसम्बन्धी उनले पाँच वर्षअघि युट्युबमा सार्वजनिक गरेको कविता शब्दशः नक्कल गरिएको छ । साथै, उक्त सामग्री प्रयोग गर्दा उनलाई कुनै श्रेयसमेत नदिइएको गुनासो गरेका छन् ।
याह्याले आफ्नो कविता र ‘केसरी-२’ फिल्ममा अनन्या पाण्डेले बोलेका संवादहरू तुलना गर्दै दुई क्लिपहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले फिल्मकी लेखिका सुमिता सक्सेनामाथि प्रत्यक्ष रूपमा ‘कपी-पेस्ट’ गरेको आरोप लगाएका छन् । साथै, अक्षय कुमार, निर्माता करण जोहर, अनन्या पाण्डे, सुमिता सक्सेना र धर्मा प्रोडक्सनलाई समेत पोस्टमा ट्याग गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।
याह्याले लेखेका छन्,‘चार दिनअघि कसैले मेरो जालियाँवाला बाग कविता सँग मिल्दोजुल्दो संवाद केसरी-२ मा प्रयोग भएको देखाउँदै क्लिप पठाएका थिए । विचार मिल्न सक्छ, तर उस्तै शब्दशैली र लाइनहरू मिल्नु संयोग हुन सक्दैन’, उनले थप भने,‘लेखकको रूपमा, कसैको सामग्रीलाई क्रेडिट नदिई लिनु गलत हो । अर्को पटक मलाई सम्पर्क गर्नुहोस्, म तपाईंका लागि मौलिक संवाद लेख्नेछु।’
यद्यपि, याह्याले सामाजिक सञ्जालमा सेयर गरेको भिडियो इन्स्टाग्रामले हटाएको छ । यसबारे उनले इन्स्टा स्टोरीमार्फत जानकारी गराउँदै भनेका छन्,‘केसरी-२ को संवादसम्बन्धी मेरो रिल इन्स्टाग्रामबाट हटाइएको छ, तर यो विषय समाधान नभएसम्म म कुरा गरिरहनेछु।’
‘केसरी-२’ गत अप्रिल १८ मा प्रदर्शनमा आएको हो । फिल्म जलियाँवाला बाग नरसंहारपछि न्यायका लागि वकिल शंकरन नायरले लडेका कानुनी संघर्षको कथामा आधारित छ । (एजेन्सी सहयोगमा )