कलाशैली संवाददाता । शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘खेल’ र ‘भूठान’ देशभरका हलहरूमा प्रदर्शनमा आउदै छ । तर, फिल्म रिलिज हुनै लाग्दा दर्शकको चासो भने अपेक्षा गरेजस्तो देखिएको छैन ।
हरिवंश आचार्य अभिनित तथा विनोद पौडेल निर्देशित फिल्म ‘भूठान’लाई १ सय २० शोज प्रदान गरिएको छ भने सुरक्षा पन्त स्टारर ‘खेल’ले ८८ शोज पाएको छ ।यद्यपि, दुबै फिल्मप्रति दर्शकको प्रारम्भिक प्रतिक्रिया कमजोर देखिएको छ ।
प्रदर्शकहरूले दुबै फिल्मलाई प्राथमिकता दिदै पर्याप्त शो व्यवस्थापन गरे पनि अग्रिम टिकट बिक्री निकै न्यून छ । टिकट बुकिङ सुस्त हुँदा शुक्रबार पहिलो दिन दुवै फिल्म न्यून अकुपेन्सीसहित प्रदर्शन हुने अनुमान गरिएको छ ।
साथै, भारतीय फिल्म ‘ओइ भुत्नी के’ पनि यही शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शनमा आउँदैछ । यस्तै, आमिर खान र सलमान खान स्टारर चर्चित बलिउड क्लासिक ‘अन्दाज अपना अपना’ पनि पुनः प्रदर्शनमा ल्याइदै छ । यसबाहेक अहिले पनि ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘पिताम्बर’, ‘केशरी २’, ‘जाट’ लगायतका नेपाली तथा भारतीय फिल्महरू प्रदर्शनरत छन् ।





