कलाशैली संवाददाता । अप्रिल २२ मा भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित २८ जनाको ज्यान गएको छ । घटनापछि भारतले पाकिस्तानमाथि आरोप लगाउँदै कडा प्रतिक्रिया जनाएको छ, जसमा पाकिस्तानी कलाकारहरूमाथि पुनः प्रतिबन्ध लगाउने निर्णयसमेत समावेश छ ।
भारतीय सुरक्षाका अनुसार आक्रमणमा केही पाकिस्तानी आतंककारीहरू संलग्न रहेको दाबी गरिएको छ । घटनापछि भारतले पाकिस्तानविरुद्ध कूटनीतिक रूपमा कडा कदम चालेको छ भने बलिउड पनि सक्रिय रूपमा यसको असरमा आएको छ ।
यसैबीच, बलिउडमा पुनरागमनको तयारीमा रहेका पाकिस्तानी अभिनेता फवाद खानले पहलगाम घटनाप्रति दुःख व्यक्त गर्दै एक पोस्टमार्फत लेखेका छन् । ‘यस जघन्य आक्रमणको खबरले म निकै दुखी छु । पीडितप्रति गहिरो समवेदना छ र शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
फवाद अभिनीत बलिउड फिल्म ‘अबीर गुलाल’ आगामी मे ९ मा प्रदर्शनमा आउन लागेको छ । फिल्ममा वाणी कपूर पनि मुख्य भूमिकामा छिन् । तर अब यो फिल्म विवादमा तानिएको छ ।
फिल्म वर्कर्स फेडरेशन अफ इन्डिया (FWICE) का प्रमुख सल्लाहकार अशोक पण्डितले बुधबार पाकिस्तानी कलाकारहरूलाई पुनः प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा अब भारतीय फिल्म उद्योगमा पाकिस्तानी कलाकार, गायक वा प्राविधिकसँग कुनै पनि रूपमा सहकार्य नगर्ने स्पष्ट गरिएको छ ।
भारतको यो निर्णयसँगै फवाद खानको बलिउड पुनरागमन प्रभावित हुने देखिएको छ । ‘अबीर गुलाल’ अब प्रतिबन्धको घेरामा पर्ने सम्भावना बलियो बनेको छ ।