कलाशैली संवाददाता । फिल्म प्रदर्शन भएपछि निर्माण समूह कलाकार लिएर हलमा पुगेर रिभ्यू गर्ने क्रम बढिरहेको छ । फिल्म हेर्न आएका दर्शकले दिएको रिभ्यू वा कलाकारसँग खिचेको तस्बिरले सामजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिने आश निर्माताको हुन्छ । त्यसकारण कलाकारसहित हल पुग्ने क्रम पछिल्लो समय बढिरहेको छ ।
प्रचारप्रसारकै पार्टका रुपमा लिईएकोले प्रदर्शकले पनि कलाकार र मिडियालाई हल भित्र ‘इन्ट्री’ दिएका छन् । तर, पछिल्लो फिल्म ‘कर्मा’ को रिभ्यू लिने क्रममा एक दर्शकले गोपनीयता हनन् भएको भन्दै आक्रोश पोखे । उनले क्यामेरा हल भित्र नल्याउन चेतावनी नै दिए । त्यसपछि हल भित्र क्यामेरा लाने की नलाने भन्ने विषय बहसमा छ ।
यस विषयमा अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो धारणा व्यक्त गरेका छन् । उनले दर्शकलाई भेट्न कलाकार जानु गलत नरहेता पनि गोपनीयताका बारेमा सचेत हुनु जरुरी रहेको बताए ।
उनले भने,’हामी खुसी भएका दर्शकलाई भेटेर हाम्रो बारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर हलमा पुग्ने गरेका छौँ । यदी हाम्रो त्यहि कुराले दर्शकलाई असर गरेको छ भने हामी सचेत हुनुपर्छ, किनकि दर्शकलाई इरिटेड गरेर हामी फिल्मकर्मी खुसी हुन् सक्दैनौँ ।’
उनले कलाकारसँगै हलमा पुग्ने क्यामेराका कारण दर्शक रिसाएको हुन् सक्ने विचार व्यक्त गरे । उनले पहिलो फिल्म ‘लूट’ कै समयमा आफुसहित अभिनेताद्वय सौगात मल र दयाहाङ राई काठमाडौँका विभिन्न हल पुगेर दर्शक भेटेर प्रतिक्रिया लिएको स्मरण गरे ।
‘हामी लूट प्रदर्शन भएपछि धेरै हलमा पुगेका थियौँ, तर त्यो बेला क्यामेरा थिएन । विस्तारै यो पब्लिसिटीकै पार्ट बन्यो, त्यसकारण केही प्रश्न उठेका छन् । दर्शकले प्रश्न उठाउनु भएको हो भने हामी सच्चिनुको विकल्प छैन’, निर्देशक बस्नेतले भने ।
हलमा मिडिया ल्याएर खिचिरहेको प्रति प्रदर्शकले पनि चित्त बुझाएका छैनन् । तर, फिल्म निर्माताले यसलाई पब्लिसिटीको ‘पार्ट’ भनेपछि प्रदर्शक नाई भन्न सकिरहेका छैनन् ।
प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकहरू बीच सल्लाह भइरहेको बताए । उनले भने,‘दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले पब्लिसिटी भनेपछि हामीले पनि हलमा खिच्न दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौं ।’
उनले प्रदर्शकहरू दर्शकको गोपनियताका अधिकार प्रति निक सजग रहेकोमा जोड दिए । केही समय यता फिल्म प्रिमियरमा सेलिब्रेटीले दिने प्रतिक्रिया भन्दा सार्वजनिक प्रदर्शनमा फिल्म हेरेका दर्शकले दिने प्रतिक्रिया प्रभाकारी हुने देखिएपछि निर्माता तथा निर्देशक मिडियाकर्मी, भिडिओग्राफर लिएर हल पुग्ने गरेका छन् ।